देउखुरीमा वन डढेलो रोकथामका लागि चेतना अभियान सुरु

देउखुरीमा वन डढेलो रोकथामका लागि चेतना अभियान सुरु

फाल्गुन २४, देउखुरी – दाङ देउखुरीमा वन डढेलो रोकथामका लागि सचेतना अभियान थालिएको छ। डिभिजन वन कार्यालय लमहीले डढेलो रोकथामका लागि यो अभियान सुरु गरेको हो।

डिभिजन वन कार्यालय, दाङ देउखुरी लमहीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै जन, धन, र वनको क्षति न्यूनीकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको बताए।

यस अभियान अन्तर्गत गाउँ–गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोमार्फत सूचना प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन (अग्नि रेखा) सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेजस्ता गतिविधिहरू सञ्चालन गरिने उनले जानकारी दिए।

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको उच्च जोखिमको समय मानिन्छ। यस अवधिमा डढेलोको प्रकोप देशभर तीव्र हुने गरेको छ, जसका कारण वन सम्पदा तथा धनजनको ठूलो क्षति हुने गर्छ।

डिभिजन वन कार्यालय, दाङ देउखुरी लमहीले सामुदायिक वन, स्थानीय समुदाय, कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तक्र्रिया गर्दै सप्ताहव्यापी रूपमा अभियानलाई अगाडि बढाउने योजना बनाएको छ।

सिनियर डिभिजनल वन अधिकृत वाग्लेले राजमार्ग तथा भित्री सडक छेउछाउ पातपतिङ्गर हटाएर सरसफाइ गर्ने तथा पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए।

. . .
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका