प्रधानमन्त्री कप क्रिकेटका लागि देउखुरी मैदानमा तैयारी सम्पन्न
५ फागुन, देउखुरी – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ गतेदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)ले यो प्रतिष्ठित प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिदार्थ रंगशाला (बुटवल) र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो।
प्रतियोगितामा सातै प्रदेशका टिमहरू तथा तीन विभागीय टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गरिरहेको हो। यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लमहीमै सम्पन्न भइसकेको थियो।
देउखुरी मैदानमा तयारी तीव्र
प्रतियोगितालाई लक्षित गर्दै देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारीका कामहरू तीव्र पारिएका छन्। मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संयन्त्र बलियो बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मतसम्भारका कार्य अन्तिम चरणमा पुगेका छन्। नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी क्रिकेट मैदानका संयोजक कैलाश रोकाले सबै तयारी योजनाबद्ध रूपमा अघि बढाइएको जानकारी दिए।
नेपाल क्रिकेट संघ (क्यान)को टोलीले मैदानलाई खेलका लागि उपयुक्त बनाउने कार्यलाई निरन्तरता दिइरहेको छ। लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरूले पनि मैदानको स्थलगत निरीक्षण गरिरहेका छन्। क्यान लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङका अनुसार प्रतियोगिता व्यवस्थित र भव्य बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको छ।
खेलाडीको तयारी, दर्शकमा उत्साह
प्रतियोगितामा नेपालका विभिन्न उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा खेलाडी उत्पादनको महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ। राष्ट्रिय टोलीमा खेल्ने धेरै खेलाडीहरू यस्तै घरेलु प्रतियोगिताबाट उदाएका छन्।
नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाँका अनुसार दर्शक व्यवस्थापन, सुरक्षा योजना, टिकट प्रणाली, र स्वास्थ्य सहायता सेवाको तयारी पनि भइरहेको छ। प्रतियोगिता हेर्न लमही, भैरहवा, बुटवललगायतका क्षेत्रहरूबाट ठूलो संख्यामा दर्शक आउने अनुमान गरिएको छ। स्थानीय क्रिकेटप्रेमी प्रेम पुलामी भन्छन्, "हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लागेकोमा हामी निकै उत्साहित छौं। तयारी तीव्र रूपमा भइरहेको छ, र खेल सुरु हुने दिन नजिकिँदै जाँदा हाम्रो उत्साह झन् बढ्दै गएको छ।"
स्थानीय अर्थतन्त्रलाई टेवा
प्रतियोगिता सफल बनाउन स्थानीय तह, खेलप्रेमी, संघसंस्था तथा व्यवसायीहरू सबैले सहयोग गरिरहेका छन्। स्थानीय होटल, यातायात, र व्यवसायीहरूले पनि प्रतियोगिताका कारण व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छ। यो प्रतियोगिता नजिकिँदै जाँदा क्रिकेटप्रेमीहरूमा उत्साह बढ्दै गएको छ, जसले नेपाली क्रिकेटको विकासलाई थप ऊर्जा दिनेछ।
ट्रेन्डिङ
धेरै कमेन्ट गरिएका
सम्बन्धित खबर
कार/बाईक
फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने
Jul, 19, 2025
Deukhuri Online
कार/बाईक
राप्ती प्रेस मञ्चद्वारा प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत
Mar, 10, 2025
Deukhuri Online